
पोखरा । टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा वेस्ट इन्डिजसँग आयोजक अमेरिका नौ विकेटले पराजित भएको छ । ‘सुपर–८’ चरणको ‘समूह-२’ मा रहेका वेस्ट इन्डिज र अमेरिकाले दोस्रो खेल खेलेका हुन् ।
यो जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ भने लगातार दोस्रो हारसँगै अमेरिकाको सम्भावना कमजोर बनेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९दशमलव५ ओभरमा १२८ रन बनाएर अलआउट भयो । १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०दशमलव५ ओभरमै एक विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले अविजित ८२ रन बनाए । अर्का ओपनर जोन्सन चाल्र्स भने १५ रन बनाउँदै पेभेलियन फर्किए । साई होप र जोन्सन चाल्र्सले ६७ रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले पनि अविजित २७ रनको योगदान दिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि अमेरिकाका लागि ओपनर ब्याट्सम्यान एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए । अर्का ओपनर स्टिभन टेलर भने दुई रनमै आउट भएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान नितिश कुमारले २० र कप्तान एरोन जोन्स पनि ११ रन थपे । यस्तै मिलिन्द कुमारले १९, साड्ली क्लाउड भान साल्कविकले १८, अली खानले अविजित १४ रन जोडे ।
बलर रोस्टन चेज र आन्द्रे रसेलले ३/३ विकेट लिए भने अल्जारी जोसेफले २ तथा गुडाकेश मोटीले १ विकेट लिए ।





