
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा पर्यटनको प्रचुर सम्भावना भएकाले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन् ।
पोखरास्थित नोभेल एकेडमीले भारतको एसएसपीजी कलेजको सहकार्यमा पोखरामा आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुख भट्टले सम्मेलनले पर्यटक आवागमनमा ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले मुलुकमा धार्मिक पर्यटनमार्फत् समृद्धिको स्पष्ट खाका आउने उनले दावी गरे ।
सम्मेलनबाट आर्जित ज्ञान र अनुभवलाई प्रयोग गर्दै पर्यटनसम्बन्धी नीति निर्माण र कार्यान्वयनमा जोड दिँदै उनले यहाँका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग पुग्नुका साथै शैक्षिक व्यक्तित्वबीचको यो जमघले यहाँका विश्वविद्यालयको शैक्षिक क्षेत्रको स्तर वृद्धि हुने अपेक्षा गरे ।
‘विश्वका कैयौँ देशले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको अवस्था छ । नेपाल ऋषिमुनीहरुको तपोभूमि पनि हो,’ उनले भने ।
प्रदेश प्रमुख भट्टले भने, ‘मन्दिर नै मन्दिरको सहर काठमाडौँमा हिन्दूहरुका प्रमुख धाम पशुपतिनाथदेखि बुद्ध जन्मभूमि लुम्बिनी हुँदै गण्डकीको मुक्तिनाथसम्मले पर्यटकको ध्यान खिच्छ । नेपालका हरेक स्थानमा पर्यटक लोभ्याउने गन्तव्य छन् । यसको प्रचारप्रसारको आवश्यकता छ ।’

बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको उनले स्पष्ट पारे ।
उनले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्ट बर्थिङ सेन्टरका रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवर्द्धनमा उच्च सफलता हासिल गर्न सकिने बताए ।
नेपाल सरकारले पर्यटन पुनरुत्थानको कार्ययोजनाअन्तर्गत विभिन्न किसिमका अन्तर्राष्ट्रिय सम्मेलन पनि गरिरहेको भन्दै प्रदेश प्रमुख भट्टले शिक्षाको माध्यमबाट अध्यात्मिक पर्यटनको हितका लागि गरिएको यो सम्मेलन महत्वपूर्ण रहने बताए ।
सम्मेलनमा राष्ट्र भारत, बंगलादेश, भुटानका विभिन्न विश्वविद्यालयका प्रतिनिधि, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थीलगायत सहभागी भएको नोभेल एकेडेमीका अध्यक्ष विशेश्वर आचार्यले जानकारी दिए ।





