पोखरामा एक सय ८० जना यातायात मजदुरका स्वास्थ्य जाँच

पोखरा । यातायात मजदुरका छाता संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४५औं स्थापना दिवसमा देशभर विविध कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा गण्डकी प्रदेश कमिटीले स्वास्थ्य शिविर आयोजना गरेको छ ।

पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा सुगर तथा ब्लडप्रेसर परीक्षण गरेको छ । सो अवसरमा एक सय ८० जनाले स्वास्थ्य जाँच गराएको अस्पतालका पब्लिक रिलेशन अफिसर सोवित सुवेदीले जानकारी दिए ।

यस्तै, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा चेकजाँच तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत गण्डकी प्रादेशिक रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको संगठनका गण्डकी प्रदेश अध्यक्ष बिष्णुबहादुर खत्रीले जानकारी दिए ।

सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाही सहभागी थिए ।

यस्तै, नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री, संगठनका प्रतिनिधि परिषद् उपप्रमुख कर्णसिं गुरुङ, उपमहासचिव एवं गण्डकी प्रदेश इञ्चार्ज विष्णुबहादुर पराजुली, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी, पोखरेली ट्याक्सी सेवा प्रालिका सञ्चालक मदन सुनार, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका प्रदेश र जिल्ला अध्यक्षलगायत संगठनमा आवद्ध मजदुर कार्यक्रममा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button