
पोखरा । गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा कास्कीले कुल सात पदक प्राप्त गर्दै च्याम्पियन भएको हो ।
प्रतियोगितामा तीन स्वर्ण, तीन रजत र तीन काश्य गरी कुल नौ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की तीन स्वर्ण, दुई रजत र दुई काश्य पदक प्राप्त गरी च्याम्पियन बन्यो ।
बागलुङ एक रजतका साथ दोस्रो हुँदा म्याग्दी एक काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ ।
पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ कास्कीका अशिम शेरचनले फाइनलमा कास्कीकै सुमन गुरुङलाई फाइनलमा ६-२ अंकले पराजित गरी स्वर्ण पदक जिते भने सुमन रजत पदकमा सीमित बने ।
सोही इभेन्टमा म्याग्दीका अमरेश पुनले बागलुङका दुर्गा घर्तीलाई ६-४ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरी काश्य पदक जिेतका छन् ।
यस्तै, रकर्व उमेन्स सिंगल्समा कास्कीकी रोजिना थापा मगरले स्वर्ण पदक जितेकी छन् । उनले फाइनलमा ६-० ले कास्कीकै केशरी आले मगरलाई पराजित गरेकी हुन् । अनुस्का शेरचनले काश्य पदक जितेकी छन् । उनले तेस्रो स्थानको खेलमा कास्कीकी कृशा गुरुङलाई ७–१ अंकले पाखा लगाएकी थिइन ।
यसअघि भएको सेमिफाइनलमा अनुष्काले केशरीसँग ५-५ ले बराबरी खेलेपछि खेल टाइ भएको थियो । जसमा केशरीले एक अंकले बाजी मार्दै फाइनलमा पुगेकी थिइन् ।
यसैगरी स्टाण्डर्ड मेन्स सिंगल्समा कास्कीका होम फगामीले फाइनलमा बागलुङका प्रजित घर्ती मगरलाई ६-० ले पराजित गरी स्वर्ण पदक जिते भने कास्कीका गणेश तिलिजाले म्याग्दीका सुमन पाइजालाई ६-४ ले हराउँदै काश्य पदक जिते ।
प्रतियोगितामा मेन्स रिकर्व सिंगल्सतर्फका स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमशः नगद रु ३० हजार, २० र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
सोही इभेन्टतर्फ उमेन्सतर्फका स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमशः नगद रु २० हजार, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै स्टाण्डर्ड मेन्स सिंगल्सतर्फका विजेताले स्वर्ण, रजत तथा काश्य पदकका विजेताले क्रमशः नगद रु २० हजार, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको कास्की आर्चरी संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् सदस्य योगेन्द्र शेरचनले जानकारी दिए ।
प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दीलबहादुर गुरुङ, नेपाल आर्चरीका संस्थापक हरिध्वज तुलाचन, अग्रज समाजसेवी मीनबहादुर शेरचनलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।





