
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले समाज रुपान्तरणमा स्काउटको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल स्काउटको ७३औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले आयोजना गरेको दोस्रो एडभेन्चर फेस्टको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री थापाले बालबालिकाका लागि स्काउटले प्रदान गर्दै आएको शिक्षा उपयुक्त रहेको उल्लेख गरे । “समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको समयमा स्काउटले बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्नु सह्रानीय काम हो”, उनले भने ।
मन्त्री थापाले प्राकृतिक विपत्का समय स्काउटको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे । प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
विभिन्न तालिम र प्रशिक्षणका लागि भनेर प्रदेश सरकारबाट स्काउटका लागि १५ लाख विनियोजन भएको जानकारी दिँदै उनले स्काउटका क्रियाकलापलाई निरन्तरता दिन प्रदेश सरकार सधैँ प्रतिवद्ध रहेको उनले स्पष्ट पारे ।
कार्यक्रममा स्काउट नेपालकी पूर्व अन्तर्राष्ट्रिय आयुक्त शारदा पराजुली, स्काउट लिडर माधव सिग्देल र प्रदेश स्काउट कार्यालय गण्डकीका अध्यक्ष सागर पौडेललगायतले बोलेका थिए ।
असार ५ गतेदेखि सुरु भएको कार्यक्रमको समापन शनिबार भएको हो । कार्यक्रममा प्राकृतिक विपद्का समय आफू र आफ्नो परिवारसहित समाजलाई कसरी सुरक्षित राख्ने विषयमा तालिम दिइएको थियो ।





