
पोखरा । पोखरामा भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनलमा बागलुङलाई ३-० गोल अन्तरले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।
यस्तै, दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १-० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद २० हजार, उपविजेता वागलुङले १५ हजार र सहविजेता स्याङ्जाले १० हजार रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता तथा उपविजेतालाई भारतीय पेन्सन क्याम्पसका चिकित्सक मेजर डाक्टर आश्विन नारायणकार, नेपाल भारत मैत्री विद्यालयका प्रिन्सिपल मिथुन जय सहायक प्रिन्सिपल अशोक गुरुङ, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङ, केन्द्रीय सदस्य मिलन केसी, पूर्व हक्की खेलाडी तिलकबहादुर केसी, जिल्ला सदस्य क्या. राजु थापा, सु. धनसिंह गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यकारी सदस्य सदस्य ऋषिराम गौतमलगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा सहभागीले १०औं राष्ट्रिय खेलकुदको पूर्व तयारी स्वरुप प्रतियोगिताको आयोजना गरिएको बताएका थिए ।
प्रतियोगितामा सहभागी सबै जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरेर १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टिम निर्माण गरिने बताइन्छ ।





