लेखनाथको लिटल फ्लावरमा एसईई कप फुटवल

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा शनिबारदेखि एसईई कप सेभेन ए साइड फुटबल फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताकाे उद्घाटन खेलमा ज्ञानज्योति विद्याकुञ्जले डायमण्ड मोडेल स्कुललाई २-० गोल अन्तरले पराजित गर्यो । दोस्रो खेलमा गोगनले विएमजीलाई ४-१ को अन्तरले हराएको भने डायमण्ड सेकेण्डरी र त्रिवेणी पब्लिक बीचको तेस्रो खेलमा डायमण्ड सेकेण्डरीले ट्राइवेकरमा ३-२ ले जितेको छ ।

जनप्रकाश र गुरुकुल बीचको खेलमा ३-० ले गुरुकुलले जित हात पारेको भने त्रिभुवन शान्ति र जुनियर सिटीजन्स बीचको खेलमा २–० ले जुनियर सिटीजन्स विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै आयोजक लिटल फ्लावर, हाइवे गार्डेन र न्यू लेखनाथ पब्लिक एले वाक ओभर पाएका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति स्थापित गर्दै अगाडि बढ्न खेलाडीलाई आग्रह गरे । खेलकुदको विकासका लागि वडाले विभिन्न खेल अभियानमा जोड दिएको उनले बताए ।

विद्यालयका प्रिन्सिपल विकल पौडेलले पढाईका साथै अतिरिक्त क्रियाकलापको महत्वबारे चर्चा गरे ।

कार्यक्रममा नेशनल प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ, सदस्यहरु अर्जुन अधिकारी, रमेशराज पौडेल, विद्यालयकी संस्थापक एवं सञ्चालक अध्यक्ष देवी खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकसिंह गुरुङ, राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङ, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेललगायतले बोलेका थिए ।

नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत फाइनल खेल आज हुने खेल संयोजक विचित्र न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा लेखनाथका १९ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिता विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रिन्सिपल पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button