हेमजा हिले महोत्सवको तयारी तीव्र

  • पोखरा न्यूज
  • २०८१ अषाढ ९
हेमजा हिले महोत्सवको तयारी तीव्र

हेमजा । हेमजामा हेमजा हिले महोत्सवको तयारी तीव्र पारिएको छ । देवीस्थान सेवा समाज हेमजाले राष्ट्रिय धान दिवस असार १५ गते शनिबार हिले महोत्सव आयोजना गर्दैछ ।

हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्य साथ महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवले समग्र पोखराका साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक हिराशरण पौडेलले बताए ।

“कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैँटो फुटाउने, झाँकी प्रदर्शनी, विद्यालय स्तरीय धान रोप्ने प्रतियोगिता, हल गोरु दौड, माछा समाउने, असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ । महोत्सवमा विभिन्न कलाकारको संस्कृतिक प्रस्तुतिसमेत रहने छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सव सञ्चालनका लागि अनुमानित रु सात लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको देवीस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सव अर्थ संकलन संयोजक चन्द्रकला पोख्रेलले बताइन् ।

महोत्सव तयारीस्वरुप महोत्सवस्थल वरपर, विष्णुपादुका धार्मिक क्षेत्रमा आयोजक साथै विष्णुपादुक टोल विकास संस्था, चापाघाट तथा देवीस्थान आमा समूह, चापाकोट टोल विकास संस्था, महिला सञ्जाल स्थानीयवासीको सक्रिय सहभागितामा निरन्तर सरसफाई गरिएको सरसफाई व्यवस्थापन उपसमिति चेतनारायण तिम्सिनाले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस