देशभर फैलियो मनसुन प्रणाली : पोखरामा वर्षा जारी, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली साेमबारबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ ।

जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा वर्षा भइरहेको छ । साथै हाल गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो ।

साथै असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले उल्लेख गरेको छ ।

मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमित रुपमा मनसुन बुलेटिन जारी गर्ने जनाएको छ ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरु देखिने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button