मणिपाललाई दिइएको कर छुटको विषय छानविन समिति गठन गर्न संकल्प प्रस्ताव

  • पोखरा न्यूज
  • २०८१ अषाढ १२
मणिपाललाई दिइएको कर छुटको विषय छानविन समिति गठन गर्न संकल्प प्रस्ताव

पोखरा । नेपाली कांग्रेस कास्कीका कार्यसमिति सदस्य विकास थापाले पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पताललाई कर छुट दिएको विषयमा छानविन गर्न माग गरेका छन् ।

पार्टीको बैठकमा संकल्प प्रस्ताप पेस गर्ने उनले सो माग गरेका हुन् । महालेखा प्रतिवेदन अनुसार प्राविधिक समिति र राजश्व परामर्श समितिको सिफारिसमा कार्यपालिका बैठकले मणिपाल शिक्षण अस्पताललाई १९ करोड रुपैयाँ छुट दिएको देखिएको संकल्प प्रस्तावमा उनले उल्लेख गरेका छन् ।

थापाको प्रस्तावमा भनिएको छ, ‘महानगरको कार्यपालिका बैठकमा नेपाली कांग्रेसको स्पष्ट बहुमत हुँदाहुँदै कार्यपालिका सदस्यले हस्ताक्षर गर्नु र यस्तो गम्भीर विषय बाहिर आउँदा नेपाली कांग्रेस पोखरा महानगरको संसदीय दलबाट केही कुरा स्पष्ट नगरिनुले सिंगो नेपाली कांग्रेसमाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।’

त्यसैले कास्की कांग्रेसको बैठकबाट छानविन समिति गठन गरेर नेपाली कांग्रेसबाट कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलको नेतालगायत सम्पूर्णलाई स्पष्टिकरण सोधेर चित्तबुझ्दो जवाफ नआए संसदीय दलको नेता परिवर्तन गर्नसमेत नेता थापाले माग गरेका छन् ।

साथै थापाले पोखरा-६ का पूर्व वडाध्यक्ष होमबहादुर लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने प्रस्ताव पनि उल्लेख गरेका छन् ।

कास्की कांग्रेसको बैठक बुधबारका लागि तय भएको भएपनि अविरल वर्षाका कारण स्थगित भएको छ । बैठक साउन ५ गते बस्ने बताइन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस