
पोखरा । एवन ग्रेटर नेपाल यातायात प्रालिले पछिल्लो समय यातायात व्यवसाय सञ्चालन गर्न अत्यन्तै कठिन भइरहेको भन्दै पेशागत सुरक्षाको माग गरेको छ ।
यस सम्बन्धमा आज गण्डकी प्रदेशका भौतिक पूर्वाधार, विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले मन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
‘यातायात व्यवस्था ऐन २०४९, प्रदेश सवारी ऐन २०७६ कार्यान्वयन गर्नका लागि असार ७ गते सवारी तथा यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीद्वारा प्रकाशित सूचनाले आम सार्वजनिक यातायातसँगै भाडाकार (ट्याक्सी) का व्यवसायी, स्वरोजगार चालकलगायत अन्यन्तै हर्षित भएका थियौँ, सहजताको अनुभूति गरेका थियौँ’, ज्ञापनपत्रमा भनिएको छ, ‘तर फेरि ऐन नियमविपरीत काम गर्न पाउनुपर्छ भन्दै दुई पांग्रे मोटरसाइकल र स्कुटरले मन्त्रीज्यूसमक्ष ज्ञापनपत्र बुझाउँदै छलफल गरेपपछि हामीहरु सशंकित बनेका छौँ ।’
व्यवसायीको ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले यातायात क्षेत्र सुधारका निम्ति यातायात व्यवसायीको सल्लाह सुझावअनुसार नै वार्ता र छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
यातायात क्षेत्र सुधार गरेर बै व्यवसायीको लगानी सुरक्षित गर्न आफू तयार रहेको भन्दै उनले यसका निम्ति व्यवसायीको साथ सहयोग आवश्यक पर्ने बताए ।
मन्त्री गुरुङले आफ्नो कार्यकालमा सम्झनलायक काम गर्ने अठोट लिएको र यसका लागि यातायात कार्यविधिसमेत तयार गर्न कर्मचारी खटाइसकेको जानकारी दिए । कार्यविधिको ड्राफ्ट तयार भएपछि सम्बन्धित सबै व्यवसायीलाई मन्त्रालयमा बोलाई सुझाव लिने उनले स्पष्ट पारे ।
मन्त्री गुरुङलाई बुझाइएको ज्ञापनपत्र






