
पोखरा । होटल प्रतिनिधि समाज पोखराले कास्कीमा हालै सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेको स्वागत गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. २३ स्थित चापाकोट होमस्टेमा आयोजित एक कार्यक्रमका बीच समाजले प्रजिअ पाण्डेको स्वागत गरेको हो ।
समाजको स्वागतप्रति प्रजिअ पाण्डेले खुसी प्रकट गरे । साथै उनले नियममा रहेर समाजले गर्ने प्रत्येक गतिविधिमा आफ्नो साथ रहने प्रतिबद्धता जनाए ।
उनले भने, ‘समाजमा आवद्ध प्रतिनिधिले नियम कानून अनुसार ड्रेस लगाई कोड अफ कन्डक्टमा रहेर काम गर्नुस्, हामी तपाईंलाई नियमन पनि गर्छौँ, काम गर्न सहजीकरण पनि गर्नेछौँ ।’
समाजका अध्यक्ष सन्तु चौधरी आफूहरु नियम कानूनअनुसार काम गरिरहँदा पनि विभिन्न तत्वले दुःख दिने, बद्नाम गराउने प्रयास गरिरहेको भन्दै प्रजिअ पाण्डेको ध्यानाकर्षण गराएका थिए ।
समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष काफ्लेले समाज २५औं वर्षमा आइपुग्न लाग्दा धेरै दुःख र कष्ट व्यहोर्दै आइरहेको भन्दै समग्र गतिविधिबारे प्रकाश पारेका थिए ।
समाजका महासचिव माधव लम्सालले समाजको २५औं साधारणसभा तथा १४औं अधिवेशन आगामी साउन ५ गते हुने जानकारी गराएका थिए ।
सो अवसरमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा, राष्ट्रिय अनुसन्धान केन्द्र कास्कीका उप अनुसन्धान निर्देशक सुरेश तिवारी, पोखरा ६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराई, सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीमप्रसाद पराजुली, होटल संघ पोखराका अध्यक्ष एवं समाजका पूर्वअध्यक्ष लक्ष्मण सुवेदी, पोखरा ६ का वडासदस्य एवं समाजका पूर्वअध्यक्ष दीपेन्द्र पहारीलगायत सहभागी थिए ।
कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष जीवराज उपाध्याय र कोषाध्यक्ष पुरुषोत्तम न्यौपानेले गरेका थिए ।





