
पोखरा । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल गण्डकी प्रदेशले खुला कविता प्रतियोगिता आयोजना गरेको छ ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका संस्थापक केन्द्रीय सदस्य प्रा.डा. रविलाल अधिकारीको ८०औं जन्मजयन्तीको सन्दर्भमा खुला कविता प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता असार १७ गते सोमबार गण्डकी प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा हुनेछ । प्रतियोगितामा सहभागी हुनका लागि असार १५ गते साँझ ५ बजेसम्मा कविता महासंघमा पठाइसक्नुपर्ने कार्यक्रम संयोजक लक्ष्मी थापाले जानकारी दिइन् ।
संयोजक थापाका अनुसार कविता मौलिक, अप्रकाशित तथा यसअघि कुनै प्रतियोगितामा वाचन नगरिएको हुनुपर्नेछ । कविता कुनै पनि विषयवस्तुमा रहेर बढिमा दुई सय शब्द भित्र लेखिएको हुनुपर्ने उनले बताइन् ।
साथै कुनै पनि राजनैतिक दल, समुदाय, धर्म, सम्प्रदाय वा व्यक्तिलाई आक्षेप लगाइएको कविता मान्य नहुने संयोजक थापाले स्पष्ट पारेकी छन् ।
उनका अनुसार १५ गते साँझ ५ बजेभित्र प्राप्त हुने कविताहरुबाट २० वटा उत्कृष्ट कवितालाई मात्र प्रतियोगिताको अन्तिम चरणमा वाचनका लागि आमन्त्रण गरिने छ ।
प्रतिगोगितामा प्रथम हुनेले ११ हजार एक सय ११, दोस्रो हुनेले आठ हजार आठ सय ८८, तेस्रो हुनेले छ हजार छ सय ६६ र सान्त्वना स्थान प्राप्त गर्नेले चार हजार चार सय ४४ रुपैयाँ नगदसहित प्रमाणपत्र, पुरस्कार र प्रगतिशील पुस्तकहरु पुरस्कार स्वरुप प्राप्त गर्ने महासंघका महासचिव छवि सुवेदीले जानकारी दिए ।
वि.सं. २००२ साल असार १६ गते तत्कालीन लमजुङ जिल्लाको मिजुरेडाँडा गोर्जे हाल मादी गाउँपालिका वडा नं. ९ मा जन्मेका रविलाल अधिकारीको २०७९ फागुन १६ मा निधन भएको थियो ।
अधिकारीले शिक्षक र प्राध्यापकका रुपमा शिक्षा क्षेत्रको सेवा, कविता, निवन्ध र समालोचनाका माध्यमबाट नेपाली साहित्यको सेवामा महत्वपूर्ण योगदान दिएका थिए ।





