
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आयोजना गरेको तीन महिने सीप विकास तालिम समापनमा उनले यस्तो बताएका हुन् ।
युवालाई श्रमबजार अनुकुलको ज्ञान र सीपको आवश्यकता रहेको उनले स्पष्ट पारे । उनले भने, ‘सीपले आत्मनिर्भर बनाउँछ र स्वरोजगार बन्न प्रेरित गर्छ ।’
मन्त्री थापाले सीप सिकेर खेर नजाने र कुनै न कुनै समयमा काम लाग्ने उल्लेख गरे । आफू पनि सुरुवातको समयमा बेरोजगार हुँदा परदेशिने योजना बनाएता पनि सीप विकास तालिमले नै देशमै बस्ने वातावरण सिर्जना गरेको र यहाँसम्म पुर्याएको अनुभव सुनाए ।
आत्तिएर कुनै पनि काम नबन्ने र धैर्यताको खाँचो युवामा रहेको भनाइ उनको छ । प्रदेश सरकारले नेपालमा नै बसेर स्वरोजगारतर्फ आकर्षण बढाउन युवा लक्षित कार्यक्रम ल्याएको उनले उल्लेख गरे । सीप सिक्नेका लागि अवसर थुप्रै रहेको बताउँदै सीपबाट वञ्चित नहुन उनको आग्रह छ ।
बेसिकसँगै एडभान्स लेवलको सीप विकास तालिममा समेत प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता उनको छ ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेले चालु आर्थिक वर्षमा मात्रै ३६ वटा तालिम गर्न आफूहरु सक्षम भएको बताए ।
जसमा एक हजार नौ सय ५१ जनाको आवेदनमा सात सय पाँच जनाले तालिम लिएको भनाइ उनको छ ।
तालिमबाट सीप सिकी नेपालमा नै बस्ने प्रेरणा युवालाई मिलेको विश्वास उनको विश्वास छ ।
तालिममा सहभागी पोखरा-२० की अस्मिता बस्नेतले सीप विकास तालिमले आफूलाई दक्ष बनाएको बताइन् ।
आधारभूत केश श्रृङ्गारको तालिम लिएकी उनले स्वरोजगार बन्न प्रेरित भएको सुुनाइन् ।
उनले आफूले सिकेको सीपलाई कार्यान्वयनमा लाने र नेपालमा नै केही गर्ने प्रतिबद्धता जनाइन् ।
फेशन डिजाइन, प्लम्बिङ, आधारभूत केश श्रृङ्गार, कपाल काट्ने सैलुन, विद्युत जडान, एडभान्स ब्युटीपार्लर जस्ता विभिन्न छ वटा विषयगत तालिम उपलब्ध गराइएको थियो । जसमा करिब एक सय ६० जना प्रशिक्षार्थी सहभागी थिए ।





