
पोखरा । नेपाल किसान महासंघ कास्कीकाे आयाेजनामा आज पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा, राममन्दिर बिरुवा फाँट बरालपथमा ‘२१औँ धान दिवस असारे १५ मा रोपाइँ महोत्सव’ हुँदैछ । बिहान ९:३० बजे महोत्सव उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम छ ।
महासंघ कास्कीका अध्यक्ष पुण्डरीप्रसाद बरालका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । जसमा बीउ रोप्ने, रस्साकस्सी, असारे गीत प्रतियोगिता, महिला पुरुष हिले दौड प्रतियोगिता लगायतका कार्यक्रम हुनेछ ।
प्रतियोगिता विजेता र उपविजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष बरालले बताए ।
महासंघका केन्द्रीय सदस्य नम्रता बरालका अनुसार महासंघले देशैभर २१औँ राष्ट्रिय धान दिवसका अवसरमा रोपाइँ महोत्सव आयोजना गरेको छ ।
‘किसानसँग किसानका कुरा’ गर्ने मूल उद्देश्यका साथ किसानका बिचमा रहेर रोपाई कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
विगतमा भन्दा पृथकरुपमा यस पटक महोत्सव आयोजना गरिएको छ । बरालले भनिन्, ‘नेपाली परम्परागत कृषि पद्धति, हाम्रो मौलिक संस्कृति, असारे भाकाका गीत संगीत, माटोसँग सामिप्यताको अनिभूतिका लागि हिलोमा खेलिने खेललाई जगेर्ना गर्दै नयाँ पुस्तालाई पुस्तान्तरण गर्नका लागि सन्देशमूलक रुपमा सबैलाई समावेश गर्ने जमर्को गरेका छौँ ।’
साथै परम्परालाई जोगाउँदै कृषिमा आधुनिकीकरण गर्नका लागि मेसिनको प्रयोग गर्दै कृषिमा प्रविधिको पहुँचलाई उपयोग गर्ने शिक्षा दिने कोसिस पनि महोत्सवले गर्ने विश्वास व्यक्त गरिएको छ ।





