आज हेमजामा चौथो हिले महोत्सव

पोखरा । आज हेमजामा चौथो हिले महोत्सव हुँदैछ । देवीस्थान सेवा समाज हेमजाले महाेत्सव आयाेजना गरेकाे हाे ।

महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैँटो फुटाउने, कृषि झाँकी प्रदर्शनी, विद्यालय स्तरीय धान रोपाइँ, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउनेलगायतका प्रतियोगिता हुँदैछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । महोत्सव सञ्चालनका लागि करिब सात लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवको तयारीअन्तर्गत महोत्सव स्थल वरपर सरसफाई र खेत हिल्याउने कार्यसमेत भइसकेकाे छ ।

हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।

महोत्सवले समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आवागमन बढाउने तथा कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरिशरण पौडेलले जानकारी दिए ।

‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको शान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ । जसमा विभिन्न कलाकारले प्रस्तुतिसमेत राख्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button