यस्तो थियो हेमजा हिले महोत्सवको रौनक

पोखरा । असार १५ को दिनभर जसो हेमजा हिले महोत्सवको रौनकमा रहयो । महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे । स्थानीय देवीस्थान सेवा समाजले महोत्सवको चाजोपाजो मिलाएको थियो ।

महोत्सवमा अधिकांश हेमजावासी सहभागी थिए । बिहान स्थानीय देवीस्थान माई मन्दिरमा भेला भए । मन्दिरबाट सुरु भएको कृषि झाँकीसहितको शोभायात्रा महोत्सव स्थलमा पुगेर कार्यक्रममा परिणत भयो ।

महोत्सवमा हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैँटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसानसम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता भए ।

महोत्सवमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले हेमजा प्राकृतिक सुन्दरले भरिपूर्ण रहेको चर्चा गर्दै हेमजाको खेतीयोग्य जमिनको संरक्षण गर्नुपर्ने बताए ।

आर्थिक उपार्जन गर्न विदेश जाने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दै शाहीले देशकै भूमिमा कर्म गरी अर्थोपार्जन गर्ने सपना देख्न सबैलाई सुझाव दिए ।

पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले हेमजाको पहिचानसँग हिले महोत्सव जोडिएको बताए ।

नेपाली कांग्रेस वडा सभापति मधुसुदन त्रिपाठी, विष्णुपादुका माई स्थानका अध्यक्ष चुडामणि तिमिल्सिनालगायतले कार्यक्रममा बोलेका थिए ।

महोत्सवअन्तर्गत भएको झाँकी ¥यालीतर्फ चापाघाट आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो तथा नेवा खलः हेमजा समूह तेस्रो भयो ।

यस्तै ४० वर्षमाथिको पुरुष हिले दौडतर्फ महादेव सापकोटा पहिलो तथा प्रताप सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फ मीना नेपाली पहिलो साथै रमा भण्डारी दोस्रो हुन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक हरिशरण पौडेलले जानकारी दिए ।

यस्तै भाले समाउनेमा धादिङका रमेश रानामगर विजेता, विद्यालयस्तरीय धान रोपाइ प्रतियोगितामा हेमजा बोर्डिङ पहिलो, विष्णुपादुका मावि दोस्रो र हेमजा बोर्डिङ कै समूह तेस्रो, हिले दौडमा अभिषेक बुढाथोकी प्रथम तथा उमेश विक दोस्रो भए ।

यसैगरी रस्साकस्सी प्रतिस्पर्धामा पाटा समाज पहिलो तथा सिम्पानी समूह दोस्रो, बच्चा दौड (पुरुष) तर्फ प्रशान्त सुनार प्रथम तथा कृष्ण थापा द्वितीय, महिलामा अपेक्षा केसी पहिलो तथा यार्जा राना दोस्रो हुन सफल भए ।

हलगोरु दौडमा हरि परियार प्रथम, आशबहादुर परिवार दोस्रो र बुद्धिमान् गायक तेस्रो, हिले फुटबलमा विराश कुँवरको समूह पहिलो, जेनिस भण्डारीको समूह दोस्रो, रस्साकस्सी महिलातर्फ विश्वकर्मा आमा समूह प्रथम र अन्नपूर्ण आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा सुनझाक्री आमा समूह प्रथम, चापाघाट आमा समूह द्वितीय, माछापुच्छ्रे सेवा समाज तृतीय तथा जरकेष्ठ महिला समूह सान्त्वना भएको आयोजकले जानकारी दिएको छ ।

कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाको शान भन्ने नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव भएको हो ।

महोत्सव मूल आयोजक समिति संयोजक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन उपसमिति संयोजक परशुराम अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button