रैथाने उत्पादनको ब्राण्डिङमा सरकार प्रतिबद्ध : मन्त्री थापा

  • पोखरा न्यूज
  • २०८१ अषाढ १७
रैथाने उत्पादनको ब्राण्डिङमा सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा उनले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताएका हुन् ।

“गुणस्तीरयतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ”, उनले भने ।

मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय गरेको जानकारी दिए । सहुलीयत ब्याजदरमा बैंकबाट ऋणको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

उनले प्रकृति, संस्कृति, भेषभूषालाई आत्मसात् गर्दै हामीले हाम्रा उत्पादनमा ख्याल गर्नुपर्ने उल्लेख गरे । आयत भन्दा पनि निर्यातमुखी बजारीकरणमा ध्यान दिन व्यवसायीलाई उनले आग्रह गरे । सानै भए पनि आफ्नै व्यवसायले खुसी मिल्ने बताउँदै निरन्तरताले नै सफलता मिल्ने उनको भनाइ छ ।

कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष हरिभक्त पराजुलीले साना तथा मझौला व्यवसायीको पीरमर्कालाई बुलन्द बनाउने कार्य गर्दै आएको जानकारी दिए ।

गण्डकी प्रदेश अध्यक्ष ढाकाराम पौडेलले साना तथा मझौला व्यवसायी महासंघमा २५ करोडसम्म लगानी गर्ने व्यवसायी संस्थामा आबद्ध भएको उल्लेख गरे । उनले प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन साना तथा मझौला व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए ।

कास्कीकी अध्यक्ष सिर्जना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मेला संयोजक भागीरथ शर्माले स्वागत गरेका थिए । मेला पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ५ दिनसम्म चलेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस