कास्कीमा ट्राफिक प्रहरीद्वारा रात्रिबसमा रिफलेटिभ टाँस्ने अभियान सञ्चालन

  • पोखरा न्यूज
  • २०८१ अषाढ १७
कास्कीमा ट्राफिक प्रहरीद्वारा रात्रिबसमा रिफलेटिभ टाँस्ने अभियान सञ्चालन

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि रात्रि बसमा रिफलेटिभ (स्टिकर) टाँस्ने अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले विशेषगरि पोखराबाट रातिको समयमा लामो दुरीमा सञ्चालन हुने बसमा यो स्टिकर टास्ने अभियान सुरु गरेको हो ।

अभियान सुरु गरेको तीन दिनमा तीन दर्जन सवारीमा यो स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार यो अभियान निरन्तर चलिरहनेछ । कास्कीका नाकाहरु बगरको जौबारी, छोरेपाटन, पृथ्वीचोक बसपार्क र गगनगौँडामा यो स्टिकर टाँस्ने गरिन्छ । बसको अगाडि र पछाडिको भागमा रातो र पहेँलो रंगको स्टिकर टाँसिने उनले बताए ।

पोखरा महानगरपालिकाको सहयोगमा यो अभियान सुरु गरिएको बताइन्छ ।

यो स्टिकरले रातको समयमा प्रकाश दिने भएकाले रातको समयमा पार्किङ तथा गुडिरहेको गाडीलाई अन्य गाडीका चालकले सजिलै देख्न सकिने र दुर्घटना नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएकाे प्रवक्ता खड्काले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस