
पोखरा । सिद्धार्थ क्लब पोखराले पोखरा-८ सिमलचौरस्थित जनप्रिय माविलाई एक लाख रुपैयाँको अक्षयकोष रकम हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष रुद्रनाथ बरालको उपस्थितिमा क्लबकी अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बराललाई रकम हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा वडाध्यक्ष बरालले सिद्धार्थ क्लबका सामाजिक कार्यको प्रशंशा गरे । उनले क्लबले अन्य देखिने कार्य गर्न जोड दिनुपर्ने भन्दै वडा कार्यलयसँग समन्वय गरी कार्यक्रम अघि बढाउन क्लबलाई आग्रह गरे ।
क्लबकी श्रेष्ठले विद्यालयका जेहेन्दार, सीमान्तकृत, आर्थिक अवस्था कमजोर र विपन्न वर्गका विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बराल र प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले क्लबको सहयोगप्रति आभार प्रकट गर्दै अक्षयकोषको रकम विद्यार्थीमा नै केन्द्रित रहेर व्यवस्थापन गरिने स्पष्ट पारे ।
क्लबका निर्देशक रवि मर्सानीले स्वागत र सञ्चालन सचिव विनोदप्रसाद श्रेष्ठले गरेका थिए ।





