
पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास गरिने बताए । अब चुनाव अगाडि गठबन्धनसमेत नबनाइने उनको दावी छ ।
‘केन्द्रमा पनि चुनाव अघि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिस्पर्धा गर्ने हो । यसमा नेपाली कांग्रेस पनि सहमत हुने देखियो । हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो’, उनले भने ।
हरेक पटक केपी ओली प्रधानमन्त्री हुँदा मात्र संविधान संशोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उनले गराए ।
‘७ सय ५३ वटा स्थानीय तह छन्, सातवटा प्रदेश तह छन्, सबैलाई सानो नपारिकन स्थायी सरकार पनि हुने भएन, जनतामा आकर्षण पनि हुने भएन त्यसैले हामी संविधान संशोधन गर्न चाहन्छौँ’, अधिकारीले स्पष्ट पारे ।
समानुपातिकतर्फको प्रदेशको संख्या काटेर प्रत्यक्ष मात्र राख्ने र सानो साइजको प्रदेश सरकार बनाइने उनले बताए ।
गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको सुनाए । हाल सातवटै प्रदेशमा रहेका प्रदेश प्रमुखको संख्यासमेत जम्मा एक जनामा झारिने उनले बताए ।
’समानुपातिकतर्फकोलाई एउटा संख्यामा पुर्याएर राष्ट्रिय सभामा पुर्याउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रदेश प्रमुख पनि सात वटाबाट घटाएर एकै जनाले सबैतर्फ काम गर्ने अवस्था ल्याउने तयारी छ’ उनले भने ।
अधिकारीले एमाले ओलीसँग शेरबहादुर देउवाले असार १५ गते छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर जुल्फी हल्लाएको कारण सरकार परिवर्तनको अवस्था आएको बताए ।
यो चक्र घुमिरहने भएकोले यसलाई सामान्यरुपमा लिन उनको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयाससमेत रहेको उनको भनाइ छ ।
‘प्रतिशोध साँधेर हुँदैन, हामी कसैलाई आरोप लगाउँदैनौ, कसैप्रति विरोध पनि गर्दैनौ । हामी सबै मिलेर देश बनाउँछौँ’, उनले भने । यो व्यवस्थामाथि अराजकता आउँदा व्यवस्था सुदृढ गर्ने कुराको पहल भएको उनको भनाइ थियो ।
राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले कार्यक्रममा बोलेका थिए ।





