
पोखरा । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरू बीच सकेसम्म सहमति गरेर नेतृत्व टुंग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबिच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने बताइएको छ ।
सहमति जुटाउन अहिले काठमाडौँको एक होटेलमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । नेताहरु छलफलमा बसेपनि निर्वाचनको तयारी पनि भइरहेको छ ।
महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ ।
एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।
असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन नेतृत्व चयनसँगै आजै समापन गर्ने तयारी छ ।
महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज बुधबार नौ अनुमोदन गरिएको थियो । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको हो ।





