
पोखरा । बिहान पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा शंख बजाइन्छ । शंख किन बजाइएको होला ? सायदैले चासो राखेका होलान् । किनभने यसलाई परम्परा मानेर हामी केवल अनुशरण गरिरहेका छौँ ।
यद्यपि शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा छ । शंख राख्नु, बजाउनु र यसमा पानी राखेर उचित ढंगले प्रयोग गर्नुको खास फाइदा छ ।
यी हुन् महत्व
१. शंखको धार्मिक महत्व छ । समुद्रबाट उत्पति भएको शंख घरमा राख्नु वा बजाउनुलाई शुभ मानिन्छ ।
२. वैज्ञानिक हिसाबले पनि शंखको महत्व छ । शंख बजाउँदा पैदा हुने आवाजले वातावरणमा रहेका अति हानिकारक किटाणु नष्ट हुन्छ ।
३. शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ । दमका रोगीलाई बेलुन फुक्न लगाएर जुन किसिमको उपचार विधि अपनाइन्छ त्यसैगरी शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिन्छ ।
४. शंखमा पानी सञ्चित गरेर त्यसलाई पिउने चलन पनि छ । शंखमा राखिएको पानीमा क्याल्सियम, फस्फोरस जस्ता गुण रहेको हुन्छ । यसले हड्डी तथा दाँतका लागि राम्रो काम गर्छ ।
५. वास्तुशास्त्रका अनुसार शंखमा यस्ता केही गुण हुन्छ, जसले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।
६. कसैलाई कब्जियत छ भने शंखमा पानी भरेर राख्नुपर्छ, बिहान खाली पेटमा उक्त पानी सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।
७. आँखालाई लामो समयसम्म निरोगी एवं स्वस्थ्य राख्नका लागि एक रातभर शंखमा राखेको पानीले आँखा धुनुपर्छ ।
८. शंखमा राखिएको पानीले अनुहारमा मसाज गरियो भने यसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।
९. शंखमा राखिएको पानीलाई गुलाब जल मिसाएर कपाल धुनुपर्छ, कपाल बलियो, मुलायम र बाक्लो हुन्छ ।
के हो शंख ?
समुद्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्न हो शंख । हिन्दूधर्ममा शंखको खास महत्व छ । यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । शंख बजाउँदा वायुमा रहेको विकार हट्ने विश्वास गरिन्छ । यसले धर्तीलाई जागृत गराउँछ ।
शंख मूख्यतः तीन प्रकारको हुन्छ, दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती । यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ ।





