काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई तयारीमा बस्न निर्देशन दिएको छ । विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न सीडीओलाई निर्देशन दिइएका हुन् ।
गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका सीडीओ एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा गृहसचिव एकनारायण अर्यालले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय तहसँग सहकार्य एवं समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने भएकाले सीडीओले स्थानीय तहसँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले जोड दिए ।
“स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा स्थानीय तह नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय एकदमै महत्त्वपूर्ण छ”, उनले भने, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।”
यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरे ।
जिल्लामा काम गर्ने सिलसिलामा कुनै कुरामा असहजता भएमा मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि हरबखत तयार रहेको उनले बताए ।
उनले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारमा आफैँ उपस्थित भई सहानुभूतिसहित आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution