
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको पुस्तकालयका लागि पुस्तक सहयोग आउनेक्रम जारी छ । जसअन्तर्गत शुक्रबार झण्डै १ हजार ५ सय साथ पुस्तक सहयोग प्राप्त भएको कास्की प्रहरीले जनाएको छ ।
शुक्रबार धादिङ त्रिपुरा बाराही महिला समूहले विभिन्न विधाका १ सय ३३ थान पुस्तक सहयोग गरेको छ । समूहकी अध्यक्ष बबिता मल्ल नेतृत्वको टोलीले कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापालाई पुस्तक हस्तान्तरण गरेको हो ।
सो अवसरमा समूहकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी थापा, द्वितीय उपाध्यक्ष विन्दf धरेल, सचिव रचना अधिकारी, सहकोषाध्यक्ष रेन्जु थापा, सल्लाहकार अम्विका थपलिया, कार्यसमिति सदस्य शान्ता धरेल, सविता न्यौपाने र कविता थापा मगर सहभागी थिए ।

यता, पोखरा महानगरपालिका वडा नं. १६ वाटुलेचौरस्थित प्रगति माविले पुस्तक सहयोग गरेको प्रहरीले जनाएको छ ।
साथै सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरबाट विभिन्न विधान २ सय ५९ थान, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामबाट ७ सय थान, सामुदायिक प्रहरी सेवा केन्द्र हेम्जाबाट १ सय ५० थान, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीबाट १ सय ८० थान, सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथबाट ४५ थान पुस्तक प्राप्त भएको छ ।
यसैगरी पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोकस्थित रहेको राइट फर चिल्ड्रेनबाट पनि १० थान पुस्तक प्राप्त भएको बताइको छ ।
पुस्तकालय भवन निर्माण भएपछि कास्की प्रहरीले सूचना प्रकाशित गरेर पुस्तक सहयोग आह्वान गरेको थियो ।








