
हेमजा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजाका ५५ किसानलाई गोलासहितका मौरीघार वितरण गरिएको छ । वडा कार्यालयको ५० प्रतिशत अनुदानमा मौरीघार सहयोग गरिएको हो ।
वडा कार्यालकोतर्फबाट ५ हजार तथा किसानको ५ हजार गरी कुल १० हजारको लागतमा स्टयान्डसहितका मौरीघार वितरण गरिएको हो । आव ०८०/८१ को कृषितर्फको स्वीकृत बजेटबाट वडाले मौरी घार वितरण गरेको हो ।
वडाध्यक्ष मोतीराज तिमिल्सिनाले मौरी विषादी न्यूनीकरणको आधार बन्न सक्ने विश्वास व्यक्त गरे ।
कार्यपालिका सदस्य धना तिम्सिनाले सोचेभन्दा बढी माग आएको भन्दै अन्य किसानलाई दोस्रो चरणमा घार उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।
पूर्व जनप्रतिनिधि लक्ष्मी अधिकारीले मौरीघार वितरण गरी वडाले महत्वपूर्ण कार्यको थालनी गरेको बताइन् ।
मौरी पालनबारे प्रशिक्षण दिँदै रमेशराज पौडेलले निश्चित ठाउँ छनोट गरी घार व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले लगातार वर्षाद भइरहे आहारका लागि मौरीलाई चिनीको चास्नी दिनुपर्ने बताए । उनले बासी चास्नी नदिन सुझाव दिँदै मौरीसँग मानव जीवनको सम्बन्ध रहेको चर्चा गरे ।
वडाले घार वितरण गरेका कृषकलाई यही असारमा नै मौरीपालनसम्बन्धी थप तालिम दिने जनाएको छ ।
ज्येष्ठ नागरिक मणिराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम कृषि सेवा केन्द्र हेमजा प्रमुख पुष्पा हमालले सञ्चालन गरेकी थिएन् ।





