
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।
जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा भारी वर्षा भइरहेको छ । केही दिनदेखि निरन्तर वर्षा भइरहेको पोखरामा गएरातिदेखि भारी वर्षा भइरहेको छ । वर्षा शनिबार बिहान ८ बजेसम्म जारी छ ।
आज शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने र सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना छ ।
भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।





