
तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाले अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
विशेषगरी अपांगता परिचयपत्र लिएका २ सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गर्न लागिएको अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।
अपांगता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पुर्याउन बीमा प्रक्रिया अघि बढाएको उनले बताए ।
अध्यक्ष थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अपांगता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु ४ लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।
वार्षिक शुल्कबापत जनही रु सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था छ ।
‘क’ वर्ग र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता पाउँदै आएका छन् । ‘ग’ र ‘घ’ वर्गकाले कुनै सुविधा पाउन सकेका छैनन् ।
घिरिङले केही दिनअघि १० जना ‘ग’ र ‘घ’ वर्गका अपांगतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरेको थियो ।
अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको अध्यक्ष थापाले बताए ।





