
पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ का वडावासीले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् ।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूभिल र पोखरा महानगरपालिका-१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडावासीले अस्पतालमा छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
वडाध्यक्ष कार्कीले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले अस्पतालसँग ५ शीर्षकमा सम्झौता भएको बताए ।
‘वडावासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्देश्यले मणिपाल अस्पतालसँगै विभिन्न शीर्षकमा सम्झौता गरेका छौँ’, वडाध्यक्ष कार्कील भने ।
वडावासीले मणिपाल अस्पतालमा उपचार गर्दा ओपिडी दर्तामा शतप्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, न्यूरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सकमा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशत छुट दिने सम्झौता भएको वडाध्यक्ष कार्कीले बताए ।
उपचार गर्न जाँदा पोखरा-१४ उल्लेख भएको नागरिकताको प्रतिलिपि, बसाईसराई गरी बसोबास गर्ने वडावासीको हकमा बसाईसराईको कागजको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने वडाध्यक्ष कार्कीले बताए ।





