मालढुंगा-मुस्ताङ सडकको १४ स्थानमा पहिरो, झरीले पन्छाउन समस्या

पोखरा । अविरल वर्षासँगै आएको पहिरोले बेनी-जोमसोम-कोरला सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत ठप्प भएको हो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सवइञ्जिनियर सोहनजङ्ग कार्कीले दिएको जानकारी अनुसार पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहे पनि वर्षात् र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको छ । आयोजनाअन्तर्गत पर्ने मालढुंगा-बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएको छ ।

बेनी-जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ ।

स्तरोन्नतिका क्रममा रहेको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो खसेका छन् ।

पहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतको पहिरोले धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक अवरुद्ध बनेको छ ।

पूर्वाधार विकास कार्यालयले फापरखेतको पहिरो पन्छाउने प्रयास गरे पनि निरन्तरको झरीले सफल भएको नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button