
पोखरा । गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगितामा फाइनलमा पुगेका दुई खेलाडीलाई विजेता घोषणा गरिएको छ । शनिबार हुने भनिएको फाइनल खेल वर्षाका कारण प्रभावित भएपछि यस्तो उपाय अपनाइएको हो ।
प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेल वर्षाका कारण प्रभावित भएपछि अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीलाई पुरस्कार आधाआधा बाँड्ने गरी विजेता घोषणा गरिएको हो ।
प्रदेशस्तरीय टेनिस पुरुष एकलको फाइनलमा प्रदीप खड्का र निहालजंग बहादुर थापा पुगेका थिए । आयोजकले दुवै खेलाडीलाई विजेता घोषणा गर्दै पुरस्कृत गरेको गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।
विजेता बनेका दुवै खेलाडीलाई पुरस्कारवापतको रकम जनही नगद रु २२ हजार ५ सयसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
अध्यक्ष कायस्यले भने, “बिहान ७ बजेबाटै खेलको तयार भएको थियो तर वर्षाले खेल प्रभावित हुन पुग्यो । अन्ततः अन्तर्राष्ट्रिय टेनिस महासङ्घको नियमानुसार दुवै जनालाई विजेता मान्दै पुरस्कृत गरेका हौँ ।”
प्रतियोगितामा पुरुष एकतलर्फ शास्वत बज्राचार्य र अनिल साई तेस्रो भए । उनीहरूले जनही नगद रु ३ हजार ७ सय ५० सहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।
यसैगरी महिला एकलतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद रु १५ हजार प्राप्त गरिन् । दोस्रो भएकी आरुषी शेरचनले नगद रु ७ हजार ५ सय तथा तेस्रो भएकी आहना शेरचन र ग्रिष्मा गुरुङले जनही नगद रु ३ हजार ७ सय ५० सहित मेडल तथा प्रमाणपत्र हात पारे ।
यसैगरी, ‘पुरुष डबल्स’ तर्फ प्रदीप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहालजंग बहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदीपले र अनिलको जोडीले नगद रु २० हजार तथा उपविजेता बनेको निहाल र दर्शिलले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठक, गण्डकी प्रदेश टेनिस सङ्घका उपाध्यक्षद्वय लोकबहादुर गुरुङ र विष्णुबहादुर थापा, महासचिव नवीन चालिसे, कास्की जिल्ला टेनिस संघका सचिव एवं टुर्नामेन्ट डाइरेक्टर नवीन श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यही असार १९ गतेबाट सुरु भएको प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा भएको हो ।





