
पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ परिवर्तन टोलकी ३२ वर्षीया मृगौलापीडित लक्ष्मी विश्वकर्मालाई १ लाख रुपैयाँ नगद सहयोग गरिएको छ । लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा स्थापित कोषबाट सो रकम लक्ष्मीलाई हस्तान्तरण गरिएको हो ।
कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, कार्यक्रमका चन्द्रकृष्ण कर्माचार्यले लक्ष्मीलाई रकम हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा मन्त्री थापाले गण्डकी प्रदेश सरकारले मृगौला पीडितका लागि निःशुल्क डायलसिस सेवा उपलब्ध गराएको जानकारी दिए । उनले महंगो पैसा तिरेर डायलाइसिस गर्नुपर्ने अवस्था अब नभएको स्पष्ट पारे ।
मन्त्री थापाले प्रदेशमा डायलाइसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शून्यमा झार्ने प्रयास प्रयास भइरहेको बताए । उनले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नागरिक बन्चित हुन नपर्ने स्पष्ट पारे ।
स्वास्थ्य क्षेत्रमा प्रदेश सरकार संवेदनशील भएको भन्दै उनले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक बजेट विनियोजन समेत गरिएको बताए ।
प्रदेश सरकारले सुत्केरी महिलाका लागि एयरलिफ्टिङ सेवासमेत निःशुल्क गरिदिएको भन्दै यसले ग्रामीण भेगका दूरदराजका महिलालाई तत्काल सेवा प्रवाह गर्न सहज हुने स्पष्ट पारे । स्वास्थ्य बीमा कार्यक्रम सोचेजस्तो प्रगति हुन नसकेता पनि यसको व्यवस्थापनमा लागिरहेको उनले बताए ।
नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखेले स्वास्थ्यमा जनचेतनाको आवश्यकता रहेको बताए ।
नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नागरिकको स्वास्थ्यको उपचारको बारेमा सरकारले सोच्नुपर्ने बेला आएको बताए ।
डा. अभिषेक मास्केले सुगर र उच्च रक्तचापका कारण मृगौलामा समस्या पर्ने उल्लेख गर्दै प्रत्येक ६ महिना वा वर्षदिनमा मृगौलाको जाँच गर्नुपर्नेमा जोड दिए ।
कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख गोविन्दकुमार बसन्त कर्माचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशकी प्रमुखसचिव लक्ष्मीकुमारी बस्नेत, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा-११ का अध्यक्ष प्रेम कर्माचार्य, पुरस्कार दाता दिवंगत लक्ष्मीसुन्दरी कर्माचार्यका छोरा माइकल कर्माचाय बोलेका थिए ।





