पोखरामा खुल्यो अन्तर्राष्ट्रिय स्तरको किचन ल्याव

पोखरा । गुणस्तरीय होटलसम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा ४ वर्ष अघिदेखि सञ्चालनमा आएको आरके हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिले अन्तराष्ट्रिय स्तरकोे किचन ल्याव सञ्चालनमा ल्याएको छ ।

कुकिङ तालिमको प्रभावकारिता अभिवृद्धि गर्दै स्वदेश एवं विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तर्राष्ट्रिय स्तरको किचन ल्याव सञ्चालनमा ल्याएको हो ।

किचन ल्याव आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसीलगायतले उद्घाटन गरे ।

होटेल संघ पोखराका अध्यक्ष सुवेदीले पर्यटन राजधानी पोखरामा दक्ष जनशक्तिका लागि पर्याप्त अवसर रहेको भन्दै उत्पादित जनशक्तिलाई रोजगारीको समस्या नरहेको बताए ।

बाराही ग्रुपका कर्पोरेट डाइरेक्टर राजकुमार केसीले कुकिङ तालिम प्राप्त गरेका दक्ष जनशक्तिको भविष्य उज्वल रहेको बताए । उनले उच्च मनोबलका साथ तालिम लिएर त्यसलाई व्यवहारमा उतार्न आग्रह गरे ।

होटेल संघ पोखराका पूर्वअध्यक्ष विकल तुलाचनले आरके हस्पिटालिटीले बजारको माग अनुसारको सिकाई गरिरहेको बताए । उनले विद्यार्थीले आफ्नो सिकाईलाई लगावका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

आरके हस्टिालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिका सञ्चालक तथा प्रशिक्षक आरके लामाले देश तथा विदेशका सामान्य होटललगायत पाँच तारे होटेलमा रोजगारका लागि योग्य बनाउने तथा शतःप्रतिशत रोजगारीको सुनिश्चितता गर्दै आएको बताए ।

विगत २४ वर्षदेखि होटल र हस्पिटालिटीका क्षेत्रमा काम गरेको आफ्नो अनुुभव सुनाउँदै उनले साढे २० वर्ष त होटेल क्षेत्रमा नै काम गरी यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोँचका साथ ४ वर्ष यता आरके हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि सञ्चालनमा ल्याएको बताए ।

यस संस्थाबाट हालसम्म करिब १५ हजार जनशक्ति उत्पादन भइसकेको उल्लेख गर्दै उनले उत्पादित जनशक्ति कोही पनि बेरोजगार नरहेको स्पष्ट पारे ।

सिटिइभिटीबाट मान्यता प्राप्त संस्थाले ३ महिनादेखि १० महिना समयावधिका विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको उनले स्पष्ट पारे ।

उनले भने, ‘हामीले विश्व बजारमा फस्टाउँदै गएको होटेल तथा रेष्टुरेन्टलाई दृष्टिगत गरी विद्यार्थीलाई कन्टिनेन्टल, इटालियन, चाइनिज, फ्रेन्च, इन्डियन बेकरी तथा पेष्ट्री खानाका परिकारलाई समावेश गरी अलराउन्डर कुकिङमा विद्यार्थीलाई दक्ष बनाउँदै आएका छौँ ।’
‘कुकिङ एउटा साधारण सीप मात्र होइन, यो एउटा मूल्यवान कला पनि हो’, उनले भने, ‘राम्रो कुक र सेफ बन्नका लागि समय, धैर्यता, लगनशीलता, मेहेनतका साथै कुशल प्रशिक्षकको आवश्यकता पर्दछ ।’

कार्यक्रममा सिनियर सेफ उमेश भुवाइँलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button