पोखरामा २११औँ भानु जन्मजयन्ती मनाइँदै

पोखरा । पोखरामा आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती मनाइने भएको छ ।

असार २९ गते शनिबार परेको भानुभक्तको जन्मजयन्तिमा र्‍यालीसहित विभिन्न कार्यक्रम हुने भानु वाङमय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले जानकारी दिए ।

यस अवसरमा बिहान ७ः३० बजे पोखराको मानव अधिकारचोकबाट र्‍याली सुरु भई पोखरा-११ फूलबारी, भानु प्रतिमाचोकमा पुगेर मूल समारोहमा परिणत हुने उनले जानकारी दिए ।

सो कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट प्रमुख अतिथिको रुपमा सहभागी हुँदैछन् ।

अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

भानुजयन्ती भानुभक्त आचार्यको जन्मजयन्तीको उपलक्ष्यमा मनाइने गरिन्छ । हरेक वर्ष नेपाल सरकार र नेपाली जनताका साथै विश्वभर छरिएर रहेका नेपाली भाषीले यो पर्व मनाउने गर्दछन् ।

भानुभक्त आचार्यको जन्मजयन्तीको सम्झनामा विश्वभर छरिएर रहेका नेपालीमाँझ प्रचलित सांस्कृतिक पर्वसमेत हो ।

प्रत्येक वर्ष भानु जयन्तीमा नेपाली लेखक, उपन्यासकार तथा अन्य साहित्यकारको उल्लेखनीय उपस्थितिमा साहित्यिक गोष्ठी र कार्यक्रमको साथ एक विशाल समारोहको रूपमा मनाइन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button