
पोखरा । साहित्यकार एवं लोकगायिका हरिदेवी कोइराला मुक्तक संग्रह ‘मिल्किएको मणि’ लिएर आएकी छन् । उनको मिल्किएको मणि पोखरामा लोकार्पण हुँदैछ ।
यही असार २९ गते शनिबार दिउँसो २ बजे पोखराको न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरमा कोइरालाको मिल्किएको मणि लोकार्पण हुनेछ ।
लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले सो कृति लोकर्पण गर्ने कार्यक्रम रहेको अध्यक्ष पद्यराज ढकालले जानकारी दिए ।
लोकसंगीतकी कोइलीका रुपमा परिचित हरिदेवीले ८ सय भन्दा बढी गीत गाएकी छन् । उनका १ सयभन्दा बढी एल्बम रेकर्ड भएका छन् ।
उनले साहित्यिक, सांगीतिक र सामाजिक सङ्घसंस्थाबाट २ सय ५० भन्दा बढी पुरस्कार प्राप्त गरिसकेका छन् । उनी २०४० बाट सांगीतिक आकाशमा उदाएकी हुन् ।
उनका ‘ऐना हेरर’, ‘पाइना खबर’, ‘फूलको बसना’, ‘झिल झिल सितारा’, र ‘आमा तिमरो दूधको भाराले’ चर्चित गीतहरूमा पर्छन् ।





