
पोखरा । पोखरा महानगरपालिका वडा नं. १ जौबारीमा गणेश मन्दिर निर्माण गरिएको छ । नेपाल मालिका परोपकार संघ कास्कीले मन्दिर र हवन कुण्ड निर्माण गरेको हो । मन्दिर मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देवी गुरुङले उद्घाटन गरे ।
सो गुरुङले धर्म र संस्कृति संरक्षण साथै सामाजिक क्षेत्रमा मिलन फाउन्डेसनले गरेको सहयोगले समाजमा सकारात्मक परिवर्तन भएको बताए ।
उनले सामाजिक विकासका लागि मिलन फाउन्डेसन नेपालले देशका विभिन्न ठाउँमा शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा योगदान गरेको बताए ।
मन्दिर र हवन कुण्ड निर्माणका लागि मिलन फाउन्डेसनका संस्थापक अध्यक्ष दुर्गा गुरुङले १ लाख रुपैयाँ सहयोग गरेका थिए ।
मन्दिर निर्माणमा लागि विभिन्न दाताले सहयोग गरेको मन्दिरका कोषाध्यक्ष सबिना गर्बुजाले जानकारी दिइन् ।
उनका अनुसार मन्दिर निर्माणमा ९ लाख ३८ हजार खर्च भएको थियो । दाताबाट ९ लाख ३९ हजार संकलन भई सोही रकमबाट मन्दिर निर्माण भएको उनको भनाइ छ ।
मन्दिरका अध्यक्ष नरबहादुर गुरुङ ज्याङ्गोले हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले धर्म संस्कृति बचाउन र आस्थाको संरक्षण गर्न मन्दिर निर्माण गरी सबै समुदायलाई एकतावद्ध गराउन सकिएको बताए ।
कार्यक्रममा मन्दिरका सल्लाहकार रुद्र तिमिल्सिनाले मन्दिर निर्माणले धार्मिक आस्था जोगाउनसमेत महत्वपूर्ण योगदान दिने बताए ।
सो अवसरमा मन्दिर निर्माणमा सहयोग पुर्याउने सहयोगदातालाई सम्मान गरिएको थियो । नरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नरमाया गुरुङले स्वागत र टेकबहादुर पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।





