
पोखरा । पाल्पामा सवारी दुर्घटना हुँदा १ युवकको ज्यान गएको छ भने १ युवती गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ डिंगानगरका २१ वर्षीय विवेक अधिकारी छन् भने घाइते हुनेमा १७ वर्षीया रश्मी अधिकारी छन् । विवेक र रश्मी दाजु बहिनी भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार बुधबार साँझ करिब ६ बजे पाल्पाको तिनाउ-३, दोभानमा लु२ख ५३७३ नम्बरको ट्रकले र लु८६प ६५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट विवेक र रश्मी गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको थियो । विवकेलाई चिकित्सकले तत्काले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
रश्मीको भने सोही अस्पतालमै उपचार भइरहेको छ । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





