अविरल वर्षासँगैको बाढीपहिरोबाट १०१ को मृत्यु

काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म १०१ जनाले ज्यान गुमाएका छन् ।

गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी १०१ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी १०१ जनाको मृत्यु, १०८ जना घाइते र ६ जना बेपत्ता भएका छन् ।”

यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा १ जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा १०१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु भएकाहरुमध्ये बाढीबाट २७, पहिरामा परी ५० र चट्याङ्बाट २३ जनाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । अविरल वर्षाकै कारण हालम्म १०८ जना घाइते भएका तथा ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता भएकामा कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकीमा १ जना तथा सुदूरपश्चिम प्रदेशमा १ जना गरी ६ जना रहेका छन् ।

बाढीपहिरो तथा विपद्का कारण काठमाडौँ ३, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना तथा सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १०८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोबाट अहिलेसम्म रु ४१ लाख २० हजार बराबरको क्षति भएको तथा उद्धारका लागि ५०१ जना प्रहरी परिचालन भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैगरी देशव्यापी रूपमा ३ वटै सुरक्षा निकायबीचको समन्वय र सहकार्यसहित प्रभावित क्षेत्रमा परिचालित भई खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button