
सुवास पौडेल
लमजुङ । पहिरोसँगै खसेको ढुंगो हटाउन नसक्दा लमजुङको राइनासटार सिचाइँ आयोजना ६ दिनदेखि पूर्णरुपमा बन्द छ ।
नहरमा खसेको विशाल ढुंगा हटाउन स्थानीय र नहर उपभोक्ता समितिले पटकपटक प्रयास गरेको भए पनि नसकिएको हो ।
ढुंगा फुटाउन र निकाल्न दुवै कठिन रहेको उपभोक्ता समिति कोषाध्यक्ष गोविन्दराज न्यौपानेले जानकारी दिए ।
उनले भने, ‘ढुंगा भएको स्थानमा डोजर जान पनि सम्भव छैन र मानिसले फुटाउन पनि सम्भव छैन, यसले बडो चिन्ता थपिदिएको छ ।’
नहरमार्फत पानी आपूर्ति ठप्प हुँदा खेत रापाईँ गर्न ठिक्क परेका कृषक चिन्तित छन् । नहरबाट पानी आपूर्ति नभए खेत बाँझै हुने र रोपाइँ गर्न ढिलो भए बीऊ काम नलाग्ने हुने कृषकको चिन्ता छ ।
नहरको पानीले ८ सय २० हेक्टर जमिनमा सिचाइँ हुँदै आएकोमा हालसम्म २० प्रतिशत जमिनमा मात्र रोपाई भएको छ ।
राइनास नगर प्रमुख खड्गबहादुर गुरुङले प्राविधिक टोली बोलाएर समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए ।
उपप्रमुख पुष्पराज खनालले वर्षा नरोकिएका कारण पनि समस्या भइरहेको तर उपायका बारेमा छलफल भइरहेको बताए ।
वि.संं २०५२ देखि सञ्चालनमा आएको यो नहर मध्यपहाडको सबैभन्दा ठूलो सिचाइँ आयोजना हो । यसै नहरको पानीले सिचाइँ हुँदा राइनासटार अन्न भण्डारको रुपमा परिचित छ ।





