
भारत । भारतको बिहार राज्यका १२ जिल्लामा चट्याङका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण राज्यका धेरै खोला तथा नदीमा बाढी आएको छ । भागलपुरको गंगा र कोशीबाट कटान भइरहेको छ । धेरै घर डुबानमा परेका छन् । कतिपय मानिस घर छाड्न बाध्य छन् ।
उता, उत्तर प्रदेशमा भने नेपालसँग सीमा जोडिएका जिल्लामा बाढीको अवस्था छ । पिलिभीत, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जका करिब ८ सय गाउँ लगातार तेस्रो दिन पनि बाढीको चपेटामा परेका छन् ।
शाहजहांपुरमा दिल्ली-लखनउ राजमार्ग लगातार दोस्रो दिन पनि बन्द छ । बलरामपुरको प्राथमिक विद्यालयमा ३ फिटसम्म पानी भरिएको छ । यूपी-बिहार बाहेक देशभर भारी वर्षा भइरहेको छ ।
मौसम विभागले मध्य प्रदेश, उत्तर प्रदेश, छत्तीसगढ, पञ्जाब, हरियाणा, जम्मू, उत्तराखण्ड र हिमाचल प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरेको छ ।
विभागले मुम्बईमा वर्षाको चेतावनी जारी गरेको छ । जसका कारण सडक, रेल र हवाई यातायात सेवा प्रभावित हुन सक्नेछ । शुक्रबार राति र शनिबार बिहान दिल्लीका केही क्षेत्रमा भारी वर्षा भएको थियो ।





