|फाइल तस्बिर
पर्वत । हिन्दूहरुको पवित्र पर्व हरिशयनी एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ ।
महत्वपूर्ण पर्व हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ ।
पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पूर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायतका नदी तटमा बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ ।
मोदी र कालीगण्डकी नदीको संगमको रुपमा रहेको मोदीवेणीधाममा भजन कीर्तनसहित विशेष कार्यक्रमसमेत राखिएको छ ।
त्यस्तै पर्वत, स्याङ्जा र गुल्मी तथा गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढाटाढाबाट श्रद्धालु आइपुगेका छन् ।
मोदीवेणीमा स्नान गर्नका लागि पर्वत, बागलुङ, स्याङजा र कास्कीबाट हजारौँको संख्यामा श्रद्धालु आउने गर्दछन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालु आएका छन् ।
मुक्तिनाथबाट बगेर आएको र साक्षात विष्णुको अवतारको रुपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।
कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ । हरिशयनी एकादशीको अवसरमा मोदीवेणी र सेतीवेणीमा भजन कीर्तनसमेत आयोजना गरिएको छ ।
आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने चलन छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution