पोखराको दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम

  • पोखरा न्यूज
  • २०८१ श्रावण २
पोखराको दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम

पोखरा । पोखराको नयाँबजारस्थित दृष्टि आँखा अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । अस्पतालमा साउन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालगायतले को उपस्थितिमा बिमा सुरु गरिएको हो ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले बिमा सुविधा लागू भएका अस्पतालमा बिमा बोर्डले प्रदान गर्ने रकम भुक्तानीमा ढिलाई हुने गरेको गुनासो पटकपटक आउने गरेकाले भुक्तानीमा ढिलासुस्ती नगर्न आग्रह गरे ।

कतिपय अस्पतालमा बिमा गरेका बिरामीलाई भन्दा बिमा नगरेका बिरामीलाई प्राथमिकतामा राखेर सेवा दिने गरेको गुनासो आउने गरेको मुख्यमन्त्री पाण्डेले बताए । दृष्टि आँखा अस्पताल त्यस्ता गुनासोबाट टाढा रहनुपर्नेमा उनले जोड दिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री थापाले नागरिकको सेवामा कुनै कसर बाँकी नराख्न र स्वास्थ्य बिमाको कार्यान्वयन गर्न आग्रह गरे ।

उनले पोखरामा आँखा अस्पताल कम भएकाले बिमाबाट उपचार गर्न पालो नपाउने र घन्टौँ लाइन बस्नुपर्ने समस्या दृष्टि आँखा अस्पतालमा बिमा सुविधा सुरु भएपछि केही हदसम्म निराकरण हुने बताए ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.बसौलाले हाल ७७ जिल्लाका ७ सय ५३ वटै पालिकामा स्वास्थ्य बिमा कार्यक्रम पुगिसेको बताए ।

उनले दृष्टि आँखा अस्पतालले गत महिना नै स्वास्थ्य बिमा बोर्डसँग बिमा सुविधा दिनेबारे सम्झौता गरिसहेको जानकारी दिँदै स्वास्थ्य बिमामा आवद्ध नागरिकलाई गुणस्तरीय सेवा दिनुपर्ने बताए ।

अस्पतालका अध्यक्ष शिव पोखरेलले दृष्टि आँखा अस्पतालले मानवसेवामा एउटा ईट्टा थपेको बताए । साथै उनले दृष्टि आँखा अस्पताल पूर्णरुपमा निजी लगानीमा सञ्चालित भए पनि यसको उद्देश्य पूर्णरुपमा नाफा कमाउनु नभई सस्तो र सर्वसुलभ मूल्यमा उत्कृष्ट सेवा प्रवाह गर्नु रहेको बताए ।

उक्त अवसरमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत सहरी स्वास्थ्य केन्द्र-९ को आयोजना तथा दृष्टि आँखा अस्पतालको समन्वयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रमसमेत गरिएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस