पोखरामा राजस्व संकलन सात प्रतिशतले वृद्धि

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलन सात प्रतिशतले वृद्धि भएको छ ।

विशेषगरी गत वर्ष यहाँको पर्यटकीय क्षेत्र चलायमान हुँदा यसको प्रभाव राजस्व वृद्धिमा देखिएको हो । गत आवमा रु पाँच अर्ब ५७ करोड ५५ लाख राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यालयले गत वर्ष रु छ अर्ब ३९ करोड ४७ लाख राजस्व उठाउने लक्ष्य राखेकामा लक्ष्यको ८७ दशमलव १९ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।

उनका अनुसार कार्यालयको अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले राजस्व वृद्धि भएको छ ।

कार्यालयले आव २०७९/८० मा रु पाँच अर्ब २२ करोड ६० लाख राजस्व उठाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष रु ३४ करोड ९५ लाख बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराले गत आवमा आयकरतर्फ रु तीन अर्ब ६६ करोड ८७ लाख, मूल्यअभिवृद्धि कर(भ्याट)बाट रु एक अर्ब ७३ करोड ३६ लाख र अन्तःशुल्कतर्फ रु १६ करोड ६७ लाख आम्दानी गरेको थियो ।

कार्यालय प्रमुख शर्माले राजस्व संकलनको लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षको तुलनामा वृद्धि हुनु सकारात्मक भएको बताए । अर्थतन्त्र चलायमान नभइरहेको अवस्थामा राजस्व वृद्धि हुनु राम्रो भएको उनले बताए ।

“पोखरामा राजस्व वृद्धिमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । पर्यटन चलायमान बनेकाले सहयोग पुग्यो”, कार्यालय प्रमुख शर्माले भने, “हामीले यस वर्ष पुरानो बक्यौता उठाउन बढी केन्द्रित भएर काम गरेका थियौँ, त्यसले गर्दा राजस्व बढ्यो ।”

आन्तरिक राजस्व कार्यालय पोखरामा ६० हजार व्यावसायिक करदाता छन् । त्यसैगरी व्यक्तिगत प्यान लिनेको संख्या एक लाख ५० हजार र मूल्यअभिवृद्धि करमा दर्ता भएका करदाता १२ हजार हाराहारीमा रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button