राष्ट्रिय एकतासँगै पार्टीभित्रको एकता आवश्यक : नेता अधिकारी

पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन् ।

४६औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा उनले राष्ट्रिय एकतासँगै पार्टीभित्रको एकता आवश्यक भएको स्पष्ट पारे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘हामी गुटबन्दीको विरोध गर्छौँ, अराजकताको विरोध गर्छौँ, एकताको पक्षमा छौँ, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौँ, जसले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’, उनले भने ।

नेता अधिकारीले युवालाई काम गरेर श्रममा बाँच्दै आफ्नो पौरखमा अघि बढ्न आग्रह गरे । युवा संघ कास्कीले बाढी पहिरोलगायतका विपद्मा परेका जनताको उद्दारमा सक्रिय सहभागिता जनाएर नमुना काम गरेको भन्दै उनले अबका दिनमा अझ सुदृढ एकतावद्ध बनेर आलोचना गर्नेलाई कामबाट जवाफ दिन आवश्यक रहेको स्पष्ट पारे ।

बाढी पहिरोलगायतका प्राकृतिक विपद्मा परी कास्कीसहित लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जामा ठूलो जनधनको क्षति भएकोमा अधिकारीले दुःख व्यक्त गर्दै पहिरोमा परेर निधन भएकाको परिवारलाई आवश्यक राहत र व्यवस्थापन काम भइरहेको जानकारी दिए ।

‘तपाइँहरूको सहयोगमा प्रशासनलाई चुस्त दुरुस्त बनाएर पीडित परिवारलाई राहत दिने काममा हाम्रो नेतृत्वमा काम गरेका छौँ, पीडित परिवारलाई भेट गरिरहेको छुँ’ उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अहिले देश अघि बढिरहेको भन्दै विकास निर्माण र विचारमार्फत राष्ट्रिय स्वाधिनताको झण्डा माथि उठाउन सफल हुने उनले दावी गरे ।

ओली नेतृत्वको सरकारले देशमा रहेको गरिबी, अभाव, बेरोजगारीलगायतका समस्या समाधान गर्दै विकासको गतिमा देशलाई अघि बढाउने उनले स्पष्ट पारे ।

राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज विक्रम गुरुङ, कास्की सचिव उमेश गुरुङलगायतले बोलेका थिए ।

कार्यक्रममा ७८ युनिट रगत संकलन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

पुष्पलाल स्मृति दिवसमा एमाले कास्कीको आयोजनामा साउन ६ गते बिहान ७ बजे जिरो किमीदेखि पुष्पलाल पार्कसम्म सरसफाई कार्यक्रम तथा साउन ७ गते ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र वर्तमानको कार्यभार’ विषयक विचार गोष्ठीको आयोजना हुने अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button