|फाइल फोटो
पोखरा । पोखरामा यस वर्ष पनि बोलबम यात्रा हुने भएको छ । पोखरामा २३ वर्ष अघि बोलबम देवादीदेव महादेव आशुतोषको विशेष अनुष्ठान गरेर बोलबम पदयात्रा प्रारम्भ गरिएको थियो ।
पोखराको शिरभाग मानिएको गाईघाटबाट जल लिएर पदयात्रा गर्दै बैदामस्थित केदारेश्वर महादेव मन्दिरमा पुगेर जल विसर्जन गरिँदै आएको छ ।
केदारेश्वर महादेवमणि मन्दिरलाई स्वर्गद्वारी महाप्रभुका अनन्यभक्त शंकरानन्द स्वामीद्वारा १ सय ५० वर्ष अघि स्थापना गरिएको मानिन्छ । केदारेश्वर महादेवमणि मन्दिर स्थापनाको १ सय ५० वर्ष पुगेको भए पनि उक्त मन्दिरमा बोलबम यात्रा सुरु हुन थालेको २३ वर्षमात्र पुगेको छ ।
बोलबम पदयात्रामा भगवान केदारेश्वरको रथ, नौमती बाजा, विभिन्न सांस्कृतिक समूहद्वारा भजनीकीर्तन र झाँकी एवं जलाघडासहितको प्रदर्शन गरिने पिठाधीश स्वामी चित्धन चैतन्य महाराजले जानकारी दिए ।
स्वामी महाराजले साउनको हरेक सोमबार हुने बोलबम पदयात्रामा २५ हजार दर्शनार्थी सहभागी हुने दावी गरे ।
सोमबार बिहान सबेरैबाट मन्दिरमा आएर दूध र सेती नदीको जल चढाउने, मध्यान्हमा विशेष पूजा र रुद्राभिषेकमा सहभागी बन्ने र साँझपख मन्दिरमा हुने आरतीमा सहभागी हुनेको संख्या उल्लेखनीय हुने अनुमान गरिएको उनले बताए ।
पोखरामा २३ वर्ष अघि बोलबम सुरु भएको र त्यसपछि काठमाडौँलगायत अन्य स्थानमासमेत बोलबम यात्रा सुरु भएको उनले दावी गरे ।
सोमबार बिहान ७ बजे सेती नदीको गाईघाटमा नेपाली सेनासहितका सुरक्षाकर्मीको उद्दार टोली रहने बताइन्छ ।
केही वर्ष अघि सेती नदीको जल भर्न र स्नान गर्न जानेक्रममा दुःखद् घटना भएका कारण यस पटक उद्दार टोली राखिएको हो ।
सेती नदीको जल लिएर आउने पैदल यात्रुलाई बजारको विभिन्न स्थानमा सर्वत पानी, कागती पानी, मिश्री पानीसमेत उपलब्ध गराइने र मन्दिरमा आउने सबैलाई प्रसाद (खाना) खुवाउने व्यवस्था गरिएको छ ।
प्रसाद व्यवस्थाका लागि मितेरी नारी समूह, मारवाडी सेवा समाज, भारतीय व्यवसायी समिति र रामजी बानियासहितको समूहले सहयोग गरेका छन् ।
यस्तै, बोलबम पदयात्राका सहभागीलाई जलार्पण कार्य सहज बनाउन स्वयंसेवक परिचालन गरिने छ । सो अवसरमा मन्दिर परिसरमा विशेष मञ्चबाट राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहले भजन प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा स्वामी चैतन्य महाराजसहित धार्मिक व्यक्तित्वबाट बोलबम, भगवान भोलेनाथ र सनातन परम्परामा आधारित प्रवचन गरिने बोलबम पदयात्रा कार्यक्रम संयोजक शंकर खरालले जानकारी दिए ।
कार्यक्रमका प्रचार संयोजक दुर्गा अधिकारी र प्रेस सेन्टरका पोखरा महानगर संयोजक शिवराज बस्ताकोटीले धार्मिक विधामा पत्रकारिता गर्ने पत्रकारको पनि संस्था बनाउन आवश्यक रहेको बताएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution