
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई तिहाई बढी सदस्यबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा १८८ मत र विपक्षमा ७४ मत पर्याे ।
प्रतिनिधिसभाको बैठकमा सहभागी २ सय ६३ मध्ये १८८ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
प्रधानमन्त्रीले संसद्मा दुईतिहाइ समर्थन देखाउनका लागि १ सय ८४ सांसदको समर्थन आवश्यक पर्छ। उनले पाएकाे मत दुई तिहाई भन्दा बढी हो ।
उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए ।
यस्तै, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपालगायतका दलले भने उनको विपक्षमा मतदान गरे ।
एमाले अध्यक्षसमेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओलीको यो चौथो पटक सत्तारोहण हो ।
आज संसदमा विश्वासको मत माग्नेक्रममा प्रधानमन्त्रीले प्रतिवद्धता र एमाले-कांग्रेसबीच भएको सात बुँदे सहमति प्रस्तुत गरेका थिए ।





