पोखरामा सरसफाई अभियान सुरु

पोखरा । पर्यटन राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ ।

समाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाई गर्ने गरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।

प्रत्येक महिनाको ५ गते सम्पदा सरसफाई अभियान सञ्चालन गरिने बताउँदै उनले उक्त दिन सार्वजनिक बिदा परेमा ६ गते गर्ने गरी कार्यक्रम तय गरिएको बताए ।

एक समारोहका बीच आज सरसफाई अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ग्रीन सिटी, क्लिन सिटी बनाउने कार्यमा यो अभियान महत्वपूर्ण बन्ने बताए ।

यस अभियानले पोखरालाई सफा बनाउने कुरामा जनचेतना अभिवृद्धिसमेत गर्ने उनले विश्वास व्यक्त गरे ।

कर्मचारी मिलन केन्द्रका संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले राष्ट्रसेवक कर्मचारी समाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानमा जोडिने बताए ।

प्रत्येक महिनाको एक दिन यस अभियानअन्तर्गत पोखरा क्षेत्रका कुनै न कुनै सम्पदा सरसफाई गरिने उल्लेख गर्दै उनले यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

पोखराको फेवातालस्थित बाराही घाटबाट सुरु गरिएको सरसफाई अभियान फेवातालको किनारा क्षेत्रमा केन्द्रित गरिएको थियो ।

सरसफाईमा तीनवटै सुरक्षा निकाय, पोखरा महानगरपालिका, राष्ट्रसेवक कर्मचारी, नागरिक अभियन्ता, स्थानीय पर्यटन व्यवसायीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button