पथ प्रदर्शकका लागि टानको तालिम

पोखरा । पदयात्रालाई सुरक्षित एवं प्रभावकारी बनाउने उद्देश्यले ९० जना पथ प्रदर्शकलाई तीन दिने तालिम दिइएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजना एवं नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा तालिम दिइएको हो ।
पथ प्रदर्शकलाई वन्यजन्तु, प्राथमिक उपचार, पदमार्ग नक्सा अध्ययन एवं उद्धारलगायत विषयमा तालिम दिइएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । उनका अनुसार तालिममा लामो समयदेखि पदयात्रा क्षेत्रमा क्रियाशील ९० जना पथ प्रदर्शक सहभागी भएका थिए ।
पदयात्राका क्रममा वन्यजन्तु भेटिँदा अपनाउनुपर्ने सावधानी, आक्रमण भइहालेमा बच्ने उपाय, आफू वा पाहुना पर्यटक घाइते भएमा गरिने प्राथमिक उपचार, दुर्घटना वा वन्यजन्तुको आक्रमणबाट घाइते भएकाको उद्धार तथा पदयात्राको गन्तव्य पहिचानका लागि गरिने नक्साको प्रयोगलगायत विषयमा विज्ञहरूबाट तालिम दिइएको अध्यक्ष पन्थीले बताए ।
नक्सा अध्ययन सम्बन्धमा प्रेम गुरुङ, वन्यजन्तु सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रवीन कडरिया, उद्धारबारे सशस्त्र प्रहरी बल कालिका गण पोखराका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अरुण शर्मा, प्राथमिक उपचारसम्बन्धी प्रदेश स्वास्थ्य निर्देशनालयका नवराज शर्मा, हाईअल्टिच्यूड तथा मौसम परिवर्तनसँगै अपनाउनुुपर्ने सतर्कताबारे जगन तिमिल्सिना, शेषकान्त शर्मा लगायतले तालिम दिएका थिए ।
पदयात्रा क्षेत्रमा क्रियाशील पथप्रदर्शक तथा मजदुरहरूलाई लक्षित गरी समय समयमा यस किसिमका तालिम सञ्चालन गर्दै आइएको टान गण्डकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button