पोखरास्थित न्यू ग्यालेक्सी स्कुलमा कक्षा ११ का विद्यार्थीको स्वागत तथा अभिमुखीकरण

पोखरा । पोखरास्थित न्यू ग्यालेक्सी स्कुलले कक्षा ११ का नव आगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विज्ञान, होटल म्यानेजमेन्ट र व्यवस्थापन संकायमा अध्ययनरत करिब ३ सय १५ विद्यार्थीलाई स्वागत, विद्यालयको नीति, नियम र अध्ययन तथा अध्यापनबारे जानकारी गराइएको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विद्यालयका संस्थापिका लक्ष्मीमाया कायस्थको अध्यक्षतामा कार्यक्रममा कक्षा १२ की सुहाना तमाङले मन्तव्य तथा अमन लामा, जानुका घिमिरे, सृष्टि पगेनी र रौनक श्रेष्ठले नृत्यमार्फत स्वागत गरेका थिए ।

निर्देशक राजु कायस्थले न्यू ग्यालेक्सी देशकै उत्कृष्टमध्येको एक विद्यालय भएको दावी गरे । उनले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध नङ-मासुको जस्तो हुनुपर्ने बताए । उनले भने, ‘विद्यालयले सबै किसिमको प्रयास गर्छ, शिक्षकले पनि सही मार्ग निर्देश गर्नुहुन्छ, तपाई (विद्यार्थी) हरु मेहनत गर्नुस्, भविष्य उज्ज्वल अवश्य हुनेछ ।’

सहायक प्राचार्य राजेश भण्डारीका अनुसार २०५१ सालमा स्थापित विद्यालयमा २०५८ सालदेखि विज्ञान संकायको पढाइ हुन थालेको हो ।

भण्डारीका अनुसार विद्यालयमा २०६१ देखि म्यानेजमेन्ट हुँदै हाल व्यवस्थापन, टुरिजम एण्ड माउन्टेनेरिङ, कम्प्युटर साइन्स, विज्ञान संकाय र होटल म्यानेजमेन्टको पढाइ हुँदै आएको छ ।

विद्यालयका विज्ञान संयोजक दीपक अधिकारीले न्यू ग्यालेक्सी राष्ट्रियस्तरको क्याम्पस भएको बताए । विद्यार्थीले आफ्नो भविष्य उज्ज्वल बनाउन निकै मेहनत गर्नुपर्ने उनले बताए । उनले भने, कलेज राम्रो हुँदैमा विद्यार्थीले भविष्य राम्रो हुन्छ भन्ने सोच्नु हुँदैन, मेहनत नगरी हुँदैन ।

विद्यार्थीको भविष्य कोर्ने समय कक्षा ११ र १२ को अध्ययन नै भएको स्पष्ट पार्दै अधिकारीले यो समय खेर फालेमा भविष्य बिग्रनेतर्फ सचेत हुन आग्रह गरे ।

विदेश जाने सोँच त्यागेर स्वदेशमै केही गर्छु भन्ने लक्ष्य लिएर अघि बढ्न उनले सुझाव दिए । अधिकारीले अनुशासनमा केन्द्रित भएर दुई वर्ष सुखद् रहने अपेक्षा राखे ।

सो अवसरमा कक्षा ११ की नव आगन्तुक विद्यार्थी आकृति राईले विद्यालयको गरिमालाई माथि पुर्याउन प्रयत्न गर्ने बताइन् ।

कार्यक्रम सञ्चालन विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ र कक्षा १२ की विद्यार्थी सोनिका पोखरेलले गरेका थिए ।

सो अवसरमा कक्षा १२ का विभिन्न संकायका विद्यार्थी विभिन्न विधाका नृत्य, गीतमार्फत मनोरञ्जन दिलाएका थिए । साथै कक्षा ११ का नव आगन्तुक ३ सय १५ जना विद्यार्थीलाई खादा र टीका लगाएर स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button