
पोखरा । स्याङ्जाको छाङछाङदीस्थित छायाँक्षेत्र मन्दिरमा साउन ७ गते पहिलो सोमबार विशेष मेला लाग्यो । मेलामा सहभागी भक्तजनबाट एकै दिनमा १ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ भेटी संकलन भएको छ ।
मन्दिरमा सहयोग रसिदबाट २४ हजार ६ सय ७९, आजीवन सदस्यताबाट ५ सय ५, पार्किङ सेवाबाट २५ हजार, स्टल बिक्रीबाट २० हजार ५ सय, मूल मन्दिर तथा भजन मण्डलीबाट ४३ हजार तथा दानपेटीकाबाट ३१ हजार २ सय ५० गरी १ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ संकलन भएको हो ।
साउन महिनाको सोमबारको मन्दिरमा उल्लेख्य दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समिति सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलले बताए ।
जिल्लाकै पवित्र धार्मिक स्थलका रुपमा रहेको छायाँक्षेत्र मन्दिरमा साउन महिनामा शिवजीको ब्रत वस्दा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ । साउन महिनाभरि चोखो खाएर भगवान शिवको उपासना गर्ने गरिन्छ ।
मन्दिरमा महाशिवरात्री, वैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिशयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउनेलगायतका समयमा मेला लाग्ने गर्दछ ।
श्री स्वस्थानी ब्रत कथामा समेत छाँयाक्षेत्र मन्दिरको चर्चा गरिएको छ । मन्दिरमा स्याङ्जाका साथै पर्वत, पाल्पा, गुल्मी, चितवन, कास्की, बाग्लुङलगायतका स्थानबाट भक्तजन आउने गर्दछन् ।





